देश लुट्नेहरूको सम्पत्ति छानबिन हुनुपर्छ, हामीले त दुःख गरेर कमाएका हौँ – सुधन गुरुङ

काठमाडौँ। पूर्वमन्त्री सुधन गुरुङले देश लुट्ने र मुलुकलाई बर्बाद बनाउनेहरूको सम्पत्ति छानबिन गरिनुपर्ने बताएका छन्।

उनले वर्षौँदेखि सत्तामा बसेर अकुत सम्पत्ति आर्जन गर्नेहरूको स्रोत खोजी गर्नुपर्नेमा जोड दिएका हुन्।

मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले सर्वसाधारण र श्रम गरेर जीविकोपार्जन गर्नेहरूलाई भन्दा पनि देशलाई खोक्रो बनाउनेहरूलाई प्रश्न गरिनुपर्ने बताए।

‘पहिले जति जना बसेर यो देश लुटे, देशलाई बर्बाद बनाए र सखाप पारे, उनीहरूलाई सोध्ने हो,’ उनले भने, ‘उनीहरूको सम्पत्ति कहाँबाट आयो, केबाट आयो भनेर छानबिन हुनुपर्छ।’

आफूहरूको सन्दर्भमा कुरा गर्दै उनले सानैदेखि पसिना बगाएर र दुःख गरेर नै अहिलेको अवस्थामा आइपुगेको दाबी गरे। उनले थपे, ‘हामी त दुःख गरेर पसिना बगाएर सानैदेखि काम गरेर आएका सर्वसाधारण व्यक्ति हौँ। देशमा केही राम्रो हुन्छ कि भनेर आएका हौं।’

उनले प्रश्न उठाउनेहरूको नैतिकतामाथि प्रश्न गर्दै थपे, ‘जसले यसरी लेखिरहेका छन्, उनीहरूको हिम्मत नै छैन। किनकि उनीहरूले त्यही पैसा खाइरहेका छन्। नुनको सोझो त गर्नैपर्‍यो नि !’

मुलुकको आर्थिक र राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले वास्तविक दोषीलाई उन्मुक्ति दिन नहुने धारणा राखेका छन्। उनले आफ्नो आर्जन पारदर्शी भएको र कसैको डर नमानी देश सेवामा लागेको सुनाए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *