काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले सपना प्रधान मल्ल ले दिएको आदेशप्रति आपत्ति जनाएका छन्।
कायममुकायम प्रधानन्यायाधीश प्रधानले संवैधानिक परिषद्को प्रधानन्यायाधीश सिफारिसविरुद्ध दायर गरिएको दरपिठ निवेदन दर्ता गरेर पेसी तोक्न आदेश दिएकी थिइन्। त्यस विषयमा संसदमा रास्वपा सांसद यज्ञमणि न्यौपाने ले “कन्फ्लिकट अफ इन्ट्रेस्ट” को आधारमा आदेश दिइएको भन्दै विरोध जनाए।
त्यसपछि सांसद समीक्षा बास्कोटाले पनि न्यायपालिकाले न्याय सम्पादनभन्दा बाहिरका विषयमा चासो दिएको आरोप लगाइन्। उनले दरपिठ भइसकेको रिट दर्ता गर्न आदेश दिनु कत्तिको न्यायोचित हो भन्ने प्रश्न गरिन्।
उनले भनिन्, ‘उहाँले लडाइँ अझै बाँकी छ भन्नुभएको छ, को सँग लडाइँ बाँकी छ ? उहाँ त न्यायमूर्ति हो । उहाँले सरकारसँग लडाइँ अझै बाँकी छ भन्नुभएको हो ? राजनीति गर्न मन भए कोट खोलेर आउनुहोला हामी तयार छौँ ।’
यस घटनापछि संवैधानिक नियुक्ति, न्यायपालिकाको निष्पक्षता र संसद–अदालत सम्बन्धबारे नयाँ बहस सुरु भएको छ।
प्रधान न्यायाधीश सिफारिसविरुद्धका रिट दर्ता गर्न कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लले आदेश जारी गरेपछि सर्वोच्च प्रशासनका कर्मचारी कार्यकक्ष छाडेर भागेका थिए।
कामु प्रधान न्यायाधीशले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहरसहित आजै दिउँसो १ बजेभित्र सबै निवेदन दर्ता गरी भोलि पेशी चढाउन आदेश दिएकी थिइन् ।
त्यसपछि कर्मचारीहरू कार्यालय छाडेर हिँडेका हुन् । प्रशासनका मुख्य कर्मचारीहरू कुर्सी छाडेर हिँडेपछि। यसको विरुद्ध वकिलहरुले सर्वोच्चमा प्रर्दशनको तयारी गरेका छन् ।






