काठमाडौं। नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गरेर क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक समय आगामी जेठ २१ सम्मलाई तोकेको छ।
पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको सभापतित्वमा केन्द्रीय कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
कांग्रेसलाई डिजिटल रूपमा सबैभन्दा बलियो सदस्य नेटवर्क भएको पार्टी बनाउने उद्देश्यका साथ समितिले सदस्यता अभिलेखीकरणका लागि विभिन्न डिजिटल माध्यम प्रयोगमा ल्याइएको कांग्रेसले जनाएको छ।
प्रत्येक क्रियाशील सदस्यले आफ्नै मोबाइलबाट अनलाइनमार्फत ‘स्वयं सदस्यता आवेदन फारम’ भरी विवरण अद्यावधिक गर्न सकिनेछ।
अद्यावधिक गर्ने क्रममा कुनै समस्या आए तोकिएको फोन नम्बर वा ‘एआई साथी’ मार्फत सहयोग लिन सकिनेछ।
बैठकले पार्टी विधानको व्यवस्थाअनुसार सदस्यता अद्यावधिक नगर्ने र कांग्रेस परिचयपत्र प्राप्त नगर्ने व्यक्ति १५औं महाधिवेशनको प्रक्रियामा सहभागी हुन नपाउने कावा मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।






