जेठ महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति?

काठमाडौं । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले आगामी जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

सार्वजनिक गरिएको तथ्याङ्क अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा बैंकहरूको औसत ब्याजदरमा सामान्य गिरावट देखिएको छ ।

वाणिज्य बैंकहरूको व्यक्तिगत निक्षेपतर्फको औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेकोमा जेठ महिनाका लागि घटेर ४.३४३ प्रतिशत कायम भएको छ ।

त्यसैगरी, संस्थागत निक्षेपतर्फको औसत ब्याजदर पनि ३.२२९५ प्रतिशतबाट घटेर ३.२०४ प्रतिशतमा पुगेको छ ।

तथ्याङ्क अनुसार अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका छन् । एनएमबि बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, नेपाल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले व्यक्तिगत ब्याजदरमा कटौती गरेका छन् । सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया, हिमालयन र नेपाल बैंक रहेका छन्, जसले व्यक्तिगततर्फ ०.२५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । यता सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको ब्याजदरमा ०.०५ प्रतिशतले सामान्य वृद्धि गरेको छ ।

संस्थागततर्फ सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो ब्याजदरमा ०.५ प्रतिशत विन्दुको वृद्धि गरेको छ भने कुमारी बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागत ब्याजदरमा उल्लेख्य कटौती गरेका छन् ।

कुन बैंकको ब्याजदर कति ?

जेठ महिनाका लागि एनएमबि बैंकको व्यक्तिगत ब्याजदर ४.८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ४.७५ प्रतिशत कायम भएको छ, जुन अन्य बैंकहरूको तुलनामा उच्च देखिएको छ । सबैभन्दा कम ब्याजदर कुमारी बैंकको ३.९६ प्रतिशत रहेको छ ।

नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र एभरेष्ट बैंकले भने वैशाख महिनाकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् ।

तरलताको अवस्था र बजारको मागलाई मध्यनजर गर्दै बैंकहरूले ब्याजदरमा सामान्य परिमार्जन गरेको देखिन्छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *