श्रीमतीका नाममा रकम असुल्ने कर्मचारी कारबाहीमा

काठमाडौँ। घरकी श्रीमतीलाई संचालक बनाई अनलाइन पोर्टल संचालन गरी आँफै कार्यरत बैँकबाट मासिक लाखौँ रुपैँया असुल्दै आएका योगेश पोखरेल कारबाहीमा परेका छन्।

ग्लोबल आईएमइ बैंक लिमिटेडको मार्केटिङ्ग तथा रिलेसनसिप विभागका प्रमुख योगेश पोखरेलले घरकी श्रीमती प्रभा पन्थीका नाममा कम्पनी खडा गरी बैंकबाट नियमित मासिक दुई लाख ( भ्याटबाहेक) रुपैयाँ असुल्दै आएका थिए।

उक्त बिषय अर्थसंजाल डटकम लगायत विभिन्न संचार माध्यममार्फत् सार्वजनिक भएपछि बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले कारबाही प्रक्रिया अघि बढाएको थियो।

अनुसन्धानका क्रममा योगेश पोखरेलले घरकी श्रीमतीका नाममा थर्ड पोल मिडिया ग्रुप संचालन गरी उक्त कम्पनीमा आँफै कार्यरत  बैंकबाट नियमित रकम ट्रन्सफर गर्दै आएको तथ्य भेटिएपछि राष्ट्र बैंकले सिईओ सुरेन्द्र कुमार रेग्मी, डेपुटी सिईओ सुमन पोखरेलसहित निज योगेश पोखरेललाई सुरुमा लिखित र चित्तबुझ्दो जवाफ नआएपछि लिखित स्पष्टीकरण नै सोधेको थियो।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकको उच्च व्यवस्थापनलाई सोधिएको स्पष्टीकरणको जवाफमा ग्लोबल आईएमइ बैंकले योगेश पोखरेललाई कारबाही गरिएको जानकारी गराएको छ। राष्ट्र बैंकलाई जानकारी गराएको पत्रमा पोखरेललाई गत चैत १५ गते कारबाही गरिएको जवाफ दिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको स्पष्टीकरण पछि योगेश पोखरेलमाथि अनुसन्धान भइ दोषी देखिएकाले कर्मचारी विनियमावालीअनुसार कारबाही गरिएको र उनले बैंकबाट नियमविपरीत अशुल्दै आएको रकम अबदेखि नअसुल्ने लिखित सर्तमा सचेत गराएको ग्लोबल आईएमइ बैंकले जानकारी गराएको छ।

पत्रमा हिजो नियमविपरीत गरिएका काम नदोहोर्‍याउने, यसअघि गर्दै आएका गलत कामकारबाही पुनः नगर्ने सर्तमा सचेत गराइएको  ब्यहोरा समेत उल्लेख गरिएको छ।

पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दायर भएको छ। उक्त बिषयमाथि अनुसन्धान भइरहेको अख्तियार स्रोतले जनाएको छ।

यस सम्बन्धमा बैंकका प्रवक्ता एवम् सूचना अधिकारी सुमन पोखरेलले भने जवाफ दिन अस्विकार गरे। पटकपटकको टेलीफोन सम्पर्कलाई समेत वेवस्ता गर्दै उनी पदिय जिम्मेवारीबाट पन्छिए।

के छ कानुनी व्यवस्था ?

बैंक तथा वित्तीय सँस्था सम्बन्धी ऐनको दफा ८२ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका नम्बर (६) मा भएको सँस्थागत सुशासन सम्बधि व्यवस्थाको (५) मा पदको दुरुपयोग गर्न नहुने व्यवस्थाअनुसार-‘कर्मचारीले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन । इजाजतपत्रप्राप्त सार्वजनिक संस्थाका कर्मचारी र निजका परिवारले समेत निज बहाल रहेको इजाजतपत्र प्राप्त संस्थासँग कारोबार गर्दा पारिवारिक सम्बन्धलाई जोड्न पाइने छैन ।

त्यस्तै, परिवारको विवरण खुलाई त्यस्ता परिवारले इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा लिने भएमा सो सम्बन्धी छलफल र निर्णयमा भाग लिन पाइने छैन । साथै, सामानहरुको खरिद बिक्री गर्दा सेयर लगायत अन्य प्रत्याभूतिहरुको कारोवारमा प्राथमिकता पाउन वा दिनका लागि पदको उपयोग गर्न पाइने छैन । यसैगरी सुन, चाँदी, विदेशी विनिमय र विदेशी सुरक्षणपत्रहरुको सट्टापट्टा गर्दा पदीय प्रभाव पार्न पाइने छैन।

त्यसैगरी वाफिया दफा ९९ को (ङ)  मा  यस ऐन विपरीत वा अस्वाभाविक तलव भत्ता तथा अन्य सुविधा कुनै बैंक वा वित्तीय संस्थाले लिएको वा दिइएको भएमा त्यस्तो सम्पूर्ण सेवा सुविधा वा सो बापत लाग्ने रकम तथा प्रचलित कानून बमोजिमको व्याज त्यस्तो सेवा सुविधा दिने व्यक्तिबाट असुल उपर गर्ने व्यवस्था गरिएको छ।

साथै, सोहि दफाको (च) मा  बैंक तथा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारी व्यावसायिक रुपले सम्बद्ध भएको निकाय समक्ष कारबाहीका लागि लेखी पठाउन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई आदेश दिने व्यवस्था छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *