स्थानीयका लागि माउन्ट एभरेष्ट पावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड ले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कुल ८ करोड ६० लाख रुपैयाँ बराबरको उक्त आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

निष्कासित सेयरमध्ये ३ लाख ४४ हजार कित्ता सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का अति प्रभावित स्थानीय बासिन्दालाई छुट्याइएको छ ।

बाँकी ५ लाख १६ हजार कित्ता भने सोही नगरपालिकाका अन्य वडाका स्थायी बासिन्दालाई वितरण गरिने कम्पनीले जनाएको छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

कम्पनीले १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

आयोजनाको कुल लागत २ अर्ब ३६ करोड ९३ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।

प्रतिमेगावाट लागत करिब १९ करोड ७४ लाख रुपैयाँ रहेको उल्लेख छ ।

कम्पनीका अनुसार आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै २८ वर्ष ९ महिना बाँकी छ ।

साधारण लगानी फिर्ता हुने अवधि ६.४ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.९४ वर्ष रहेको जनाइएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईएमबि एस क्यापिटल लिमिटेड ले गरिरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *