पर्यटन बोर्डले भन्यो–भारतीय पर्यटकबारे फैलाइएका सूचना आधारहीन र भ्रामक

काठमाडौं। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने समाचार भ्रामक र तथ्यहीन भएको जनाएको छ।

बोर्डले बुधबार विज्ञप्ति जारी गर्दै केही सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममा भारतीय पर्यटकका लागि नेपाल प्रवेश गर्दा अनिवार्य परिचयपत्र लागू गरिएको, बसाइँ अवधि ३० दिनमा सीमित गरिएको तथा अवधि नाघे सवारीसाधन जफत गरिने जस्ता सूचना गलत रूपमा प्रचार गरिएको उल्लेख गरेको हो।

बोर्डका अनुसार नेपाल सरकारले भारतीय पर्यटकको बसाइँ अवधिसम्बन्धी कुनै नयाँ व्यवस्था लागू गरेको छैन।

नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा पनि कुनै परिवर्तन नभएको स्पष्ट पारिएको छ।

विज्ञप्तिमा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध, सांस्कृतिक निकटता र पर्यटन सहकार्य यथावत् रहेको उल्लेख गरिएको छ।

बोर्डले हालै निजी सवारीसाधनमार्फत स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतीय तथा अन्य विदेशी पर्यटकका लागि अनलाइन सहजीकरण प्रणाली सुरु गरिएको जानकारी दिएको छ।

भन्सार विभागले विकास गरेको उक्त डिजिटल प्रणालीमार्फत अस्थायी प्रवेश अनुमति र राजस्व भुक्तानी अनलाइनबाट गर्न सकिने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

यस व्यवस्थाले सीमा नाकामा हुने झन्झट कम गर्नुका साथै पर्यटकलाई सहज सेवा उपलब्ध गराउने विश्वास बोर्डको छ।

पर्यटन बोर्डले सञ्चारमाध्यम, डिजिटल प्लेटफर्म, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई अपुष्ट सूचना प्रसारण नगर्न आग्रह गर्दै पर्यटनसम्बन्धी जानकारीका लागि आधिकारिक सरकारी स्रोतमा मात्रै भर पर्न अनुरोध गरेको छ।

नेपाल भारतीयसहित विश्वभरका पर्यटकका लागि सुरक्षित, मैत्रीपूर्ण र स्वागतयोग्य गन्तव्य रहेको उल्लेख गर्दै बोर्डले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र सहज आवतजावत प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *