काठमाडौं । संघीय संसद् सचिवालय ले प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफललाई निरन्तरता दिइनेछ ।
कार्यसूचीअनुसार बालेन्द्र शाह ले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ । तर बुधबार प्रधानमन्त्री बैठकमा उपस्थित नभएपछि प्रतिनिधिसभा दुईपटक स्थगित गरिएको थियो ।
प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरुद्ध गरेका थिए । आज पनि प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी नभए संसद् बैठक प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बुधबारको बैठक भने नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल टुंग्याएर निर्णयार्थ प्रस्तुत गर्ने तयारी रहेको संसद् सचिवालयले जनाएको छ । यही अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेट पनि प्रस्तुत गरिनेछ ।
त्यसैगरी राष्ट्रिय सभा को बैठक पनि बिहान ११ः१५ बजे बस्नेछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ ।






