काठमाडौं । हुलास फिन सर्भ हायर पर्चेज ले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म २४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.३५ प्रतिशतले बढी हो।
समीक्षा अवधिमा कम्पनीको कुल कर्जा लगानी १० अर्ब रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ७५.१० प्रतिशतले बढी रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार व्यवसाय विस्तारसँगै कर्जा असुली व्यवस्थापनमा सुधार हुँदा निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४.२२ प्रतिशतबाट घटेर २.९४ प्रतिशतमा झरेको छ।
कर्जा लगानी उल्लेखनीय रूपमा बढ्दा पनि सम्पत्ति गुणस्तरमा सुधार आउनु कम्पनीको वित्तीय व्यवस्थापन सकारात्मक दिशामा रहेको संकेत भएको कम्पनीले जनाएको छ।
कम्पनीले आगामी दिनमा सन्तुलित र दिगो व्यवसाय विस्तार, प्रभावकारी जोखिम व्यवस्थापन, कर्जा असुली सुदृढीकरण तथा सरोकारवालाको दीर्घकालीन हित संरक्षणमा केन्द्रित रहने जनाएको छ।






