विदेशी मुद्रा सञ्चिति ३५ खर्ब नजिक, १८.४ महिनाको आयात धान्न पर्याप्त

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा नेपालको विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेर ३५ खर्ब रुपैयाँ नजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति चैत मसान्तसम्म ३०.५ प्रतिशतले वृद्धि भई ३४ खर्ब ९५ अर्ब ७३ करोड रुपैयाँ पुगेको हो ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा असार मसान्तसम्म १९ अर्ब ५० करोड बराबर रहेको सञ्चिति चैत मसान्तसम्म २०.८ प्रतिशत बढेर २३ अर्ब ५५ करोड पुगेको छ ।

उक्त सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तसम्म २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा चैतसम्म २७.७ प्रतिशत वृद्धि भई ३० खर्ब ८२ अर्ब पुगेको छ ।

अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति असार मसान्तसम्म २ खर्ब ६३ अर्ब रहेकोमा ५६.८ प्रतिशतले वृद्धि भई ४ खर्ब १२ अर्ब ३२ करोड पुगेको छ ।

९ महिनासम्मको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ ।

राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुपात ५७.२ प्रतिशत बराबर छ । असार मसान्तमा यस्तो अनुपात ४३.८ प्रतिशत थियो ।

९ महिनामा कुल वस्तु निर्यात २ खर्ब २२ अर्ब ९४ करोड र कुल आयात १४ खर्ब ९० अर्ब ५० करोड पुगेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *