काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले सुकुमवासीको समस्या स्थायी रुपमा समाधान गरिने बताएका छन् । ललितपुरमा आइतबार आयोजित पार्टीका सांसदलाई प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछाने सरकारले सुकुमवासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने बताए । उनले भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिलाएर छाडिने बताए ।
‘खोलाको छेउमा अव्यवस्थित रुपमा, असुरक्षित ढंगले बस्नुभएका र हाकाहाकी, देखादेखी, सोझै गैरकानुनी रुपमा हडपिएको अवस्थामा कदम चालिएको हो । त्यसबाहेक कसैले आत्तिनु पर्दैन । त्यसका लागि छाती थापिएकै छौ नि ! सबैलाई लालपुर्जा दिन्छौं,’ उनले भने, ‘समस्या ३० वर्षदेखि उहाँहरु (पुराना दल)ले खडा गर्नुभयो । छाति त हाम्रो थापिएको छ । हामीले छाति थापिरहन्छौं, भूमिहीनले जग्गा नपाएसम्म । यो समस्या स्थायी रुपमा समाधान गर्छौं ।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछानेले सुकुमवासी समस्या पुराना राजनीतिक दलहरुले भोट बैंकका रुपमा प्रयोग गर्न खडा गरिएको आरोप लगाए । ‘सुकुमवासी समस्या रास्वपाले खडा गरेको होइन । हाम्रा कारणले एउटा घर सुकुमवासी बनेको छ ? रास्वपाले ल्याइदिएको सुकुमवासी परिवार हो भनेर देशभर एउटा परिवार छ, मलाई देखाउनस् त । हामी त समाधान गर्दै छौं,’ उनले भने ।






