प्रधानन्यायाधीश सिफारिसको असर सर्वोच्चमा, दैनिक पेशी सूची नै गायव

काठमाडौं। प्रधानन्यायाधीश सिफारिसलाई लिएर सर्वोच्च अदालतभित्र देखिएको असन्तुष्टिका कारण दैनिक पेशी व्यवस्थापन प्रभावित भएको छ ।

वरीयता र स्थापित परम्परा मिचेर चौथो नम्बरका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएपछि सर्वोच्चका न्यायाधीशहरूबीच असन्तुष्टि बढेको बताइएको छ ।

यसअघि सामान्यतया बिहान साढे ९ बजेदेखि पौने १० बजाभित्र सार्वजनिक हुने दैनिक पेशी सूची शुक्रबार बिहान ११ बजेसम्म पनि सार्वजनिक हुन सकेन ।

सर्वोच्च अदालत स्रोतका अनुसार संवैधानिक परिषद्को निर्णयपछि उत्पन्न परिस्थितिका कारण गोला प्रक्रियामार्फत मुद्दा बाँडफाँट गर्ने कार्य प्रभावित भएको हो ।

प्रधानन्यायाधीश सिफारिसपछिको अवस्था र न्यायपालिकाको गरिमासम्बन्धी विषयमा न्यायाधीशहरू तथा सर्वोच्च प्रशासनका उच्च अधिकारीबीच आन्तरिक छलफल जारी रहेको बताइएको छ ।

पेशी व्यवस्थापन शाखाका एक कर्मचारीका अनुसार न्यायाधीशहरू गोला तान्न सहमत नभएसम्म पेशी सूची सार्वजनिक गर्न नसकिने अवस्था रहेको छ ।

न्याय क्षेत्रका कतिपय व्यक्तिहरूले वरीयतामा अगाडि रहेका न्यायाधीशलाई पन्छाएर चौथो वरीयताका न्यायाधीशलाई नेतृत्वका लागि सिफारिस गरिनुलाई स्थापित न्यायिक परम्परामाथिको हस्तक्षेपका रूपमा टिप्पणी गरेका छन् ।

न्यायाधीशहरूको सामूहिक असन्तुष्टिका कारण आज नियमित इजलास बस्ने वा नबस्ने भन्ने विषयमा समेत अन्योल देखिएको छ ।यस घटनाले सर्वोच्च अदालतको नियमित कार्यसम्पादनसँगै न्यायपालिका र राजनीतिक नेतृत्वबीचको सम्बन्धबारे नयाँ बहससमेत सुरु गराएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *