धरौटीमा छाड्न अदालतको आदेशलगत्तै पुनः पक्राउ परे शेखर गोल्छा

काठमाडौँ। व्यवसायी शेखर गोल्छालाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पुनः पक्राउ गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले सोमबार उनलाई धरौटीमा छाड्न आदेश दिए पनि प्रहरीले उनलाइ  राति नै फेरि नियन्त्रणमा लिएको हो।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार गोल्छाविरुद्ध दुई फरक–फरक मुद्दामा अनुसन्धान भइरहेकाले उनलाई पुनः पक्राउ गरिएको हो।

उनकाअनुसार धितोपत्र सम्बन्धी मुद्दामा अदालतले धरौटीमा छाड्न आदेश दिए पनि अर्को छुट्टै कसुरमा अनुसन्धान भइरहेकाले उनलाई नछोडिएको हो।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा हिमालय रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष समेत रहेका उनलाई सीआईबीले वैशाख १० गते काठमाडौँको नक्सालबाट पक्राउ गरेको थियो।

उनको गिरफ्तारीविरुद्ध पत्नी सीमा गोल्छाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्।

सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले धितोपत्रसम्बन्धी मुद्दामा अनुसन्धानका लागि धरौटी वा जमानत माग नगरी हिरासतमा राखिएको भन्दै उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो।

तर, अदालतले बिमा ऐन, २०७९ अन्तर्गतको कसुरमा पक्राउ अनुमति जारी नभएको र सो विषयमा निवेदनमा जिकिर पनि नभएको उल्लेख गर्दै त्यसबारे बोलिराख्न नपर्ने आदेश गरेको थियो।

यही आधारमा प्रहरीले उनलाई सोही कसुरमा पुनः नियन्त्रणमा लिएको हो।

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललगायत समूहसँग मिलेमतो गरी सेयर कारोबार गरेको आशंकामा नेपाल धितोपत्र बोर्डले जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन तयार पारेको थियो।

उक्त प्रतिवेदनमा गोल्छासहित ६ जनाको मिलेमतो भएको आशंका गरिएको छ। सो प्रतिवेदनका सिफारिस कार्यान्वयनका लागि सरकारले सीआईबीलाई अनुसन्धानको जिम्मा दिएको थियो।

त्यसपछि गोल्छालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *