आफ्नो घर तथा कार्यालयमा छापा मारेपछि के भन्छन् मुख्यमन्त्री बानियाँ ?

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा छापा मारिएको विषयमा आपत्ति जनाएका छन् ।

सोमबार मुख्यमन्त्री बानियाँको हेटौँडा–५ स्थित निवास र उनकै स्वामित्वमा रहेको बानियाँ निर्माण सेवाको विभिन्न स्थानमा रहेका कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको थियो ।

सोही घटनापछि मुख्यमन्त्री बानियाँले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । आफू मुख्यमन्त्री भएदेखि नै सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणलाई प्राथमिकतामा राखेको जिकिर गर्दै बानियाँले सोही अनुसार आफूले बागमती प्रदेश सरकारको सार्वजनिक कार्य सञ्चालनमा खर्च कटौतीका साथै आर्थिक मितव्ययिताका लागि निरन्तर काम गर्दै आएको जनाएका छन् ।

‘तीन तहको सरकार समन्वय, सहअस्तित्व र सहकार्यका आधारमा चलेको हुन्छ,’ मुख्यमन्त्री बानियाँले विज्ञप्तिमा भनेका छन्, ‘सङ्घीय सरकारले गर्ने सकारात्मक कार्यमा प्रदेश सरकारको नेतृत्वकर्ताको रूपमा मुख्यमन्त्रीको सधैँ साथ रहन्छ ।’

राज्यको जुनसुकै तहले सुशासनको पक्षमा गर्ने हरेक कार्यमा आफू सहयोग गर्न तत्पर रहेको पनि मुख्यमन्त्री बानियाँले प्रस्ट पारेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘तर विभिन्न सञ्चारमाध्यममा आएको समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको नाममा गरेको छापामारीले मेरो व्यक्तिगत एवं सामाजिक चरित्रमाथि आघात पुगेको महसुस भएको छ।’

राज्यको जुनसुकै निकाले अनुरोध गर्न पनि अनुसन्धानका लागि आफू भौतिक रूपमा उपस्थित हुने अवस्थामा छापा मारेकोप्रति उनको असन्तुष्टि छ। उनले संवैधानिक र कानुनी दायरामा रहेर गरिने हरेक अनुसन्धानमा आफ्नो समर्थन र सहयोग रहने विज्ञप्तिमा उल्लेख छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *