काठमाडौं। काठमाडौंको अनामनगरस्थित धोबीखोला किनारमा रहेको एक चर्चित साततले भवनका मालिक इन्द्रकुमार चाम्लिङ पक्राउ परेका छन्।
सार्वजनिक जग्गामा अनधिकृत रुपमा निर्माण गरिएको भनिएको चर्चित भवनमा आज दिउँसो सरकारले डोजर चलाए लगत्तै प्रहरीले घरबेटी चाम्लिङलाई नियन्त्रणमा लिएको हो । संघीय
सरकार र महानगरपालिकाको समन्वयमा खोला किनारका अनाधिकृत संरचना हटाउने अभियानअन्तर्गत उक्त भवन मापदण्डविपरीत रहेको भन्दै डोजरले चार तला भत्काइएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार चाम्लिङको घरबाट प्रहरी बर्दी (पोसाक), आर्मी कम्ब्याट ड्रेस र हतियारजस्ता देखिने सामग्री फेला परेपछि उक्त सामग्रीबारे थप अनुसन्धान तथा सोधपुछका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चाम्लिङलाई बरामद भएका सामग्रीबारे सोधबुझ गरी कागज गराएर बोलाएको समयमा उपस्थित हुनेगरी छाड्ने तयारी भइरहेको छ ।






