काठमाडौं । नेपाल सरकारले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा यस विषयमा विभिन्न सञ्चार माध्यममार्फत सोधिएका प्रश्नप्रति मन्त्रालयको ध्यान गएको उल्लेख गरिएको छ।
मन्त्रालयद्वारा जारी वक्तव्य अनुसार नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश–मानसरोवर यात्रा सञ्चालन गर्ने भनिएको विषयमा सरकार गम्भीर रहेको जनाएको हो।
वक्तव्यमा सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वतर्फ पर्ने लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालका अभिन्न भू–भाग रहेको विषयमा नेपाल सरकार स्पष्ट र अडिग रहेको जनाइएको छ।
नेपाल सरकारले नेपाली भूमि लिपुलेक हुँदै आयोजना गरिने भनिएको कैलाश–मानसरोवर यात्राबारे आफ्नो स्पष्ट अडान र सरोकार भारत र चीन दुवै पक्षलाई कूटनीतिक माध्यमबाट पुनः अवगत गराइसकेको मन्त्रालयले जनाएको छ।
यसअघि पनि नेपाल सरकारले भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण वा विस्तार, सीमा व्यापार तथा तीर्थयात्रा जस्ता कुनै पनि गतिविधि नगर्न निरन्तर आग्रह गर्दै आएको वक्तव्यमा उल्लेख छ।
साथै, लिपुलेक क्षेत्र नेपाली भू–भाग रहेको विषयमा मित्रराष्ट्र चीनलाई समेत आधिकारिक रूपमा जानकारी गराइएको मन्त्रालयले स्पष्ट पारेको छ।
नेपाल र भारतबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध, ऐतिहासिक सन्धि–सम्झौता, तथ्य, नक्सा र प्रमाणका आधारमा सीमा सम्बन्धी समस्याको समाधान कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार सधैं प्रतिबद्ध रहेको पनि वक्तव्यमा उल्लेख गरिएको छ।







