जग्गा रोक्का र फुकुवा अब बैंकबाटै, मालपोत जान नपर्ने

काठमाडौं । अब बैंकबाटै धितो जग्गा रोक्का वा फुकुवा हुने भएको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागले एउटा परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट हुने धितो बन्धकी रोक्का वा फुकुवाको काम अनलाइनबाटै हुने जानकारी गराएको हो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शासकीय सुधारसम्बन्धी कार्यसूचीअन्तर्गत नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने क्रममा यो व्यवस्था लागू गरिएको हो।

यो व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आएपछि ऋण लिन वा चुक्ता गरेपछि जग्गा रोक्का र फुकुवा गर्न सेवाग्राही आफैँ मालपोत धाउनुपर्ने र बिचौलियालाई अतिरिक्त रकम बुझाउनुपर्ने बाध्यताको अन्त्य हुने अभिलेख विभागले दाबी गरेको छ ।

भूमि प्रशासन निर्देशिका, २०८१ को दफा ३९२ को उपदफा (४) बमोजिम बैंक तथा वित्तीय संस्थाबाट प्राप्त हुने धितोबन्धकी रोक्का फुकुवा सम्बन्धी कार्यलाई चरणबद्ध रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरिएको छ । यसअनुसार तोकिएका बैंक तथा वित्तीय संस्थाले मिति २०८३ साल वैशाख २१ गतेदेखि र अन्य क, ख, ग तथा घ वर्गका बैंक तथा वित्तीय संस्थाबाट मिति २०८३ साल जेठ १ गतेदेखि उक्त सेवा अनलाइन प्रणालीमार्फत सञ्चालन गर्ने भएका छन् ।

हालसम्म अनलाइन प्रणाली सञ्चालनका लागि अनुमति नलिएका र सम्झौता नगरेका अन्य बैंक तथा वित्तीय संस्थाहरूका हकमा आगामी १ जेठदेखि यो व्यवस्था अनिवार्य गर्न भनिएको छ ।

विभागले ती संस्थाहरूलाई जेठ १ अगावै अनुमति पत्र लिई आवश्यक तयारी गर्न आग्रहसमेत गरेको छ।

सरकारले यस व्यवस्थाबाट सेवा प्रवाहमा पारदर्शिता, उत्तरदायित्व र समयबद्धता सुनिश्चित हुने विश्वास व्यक्त गरेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *