आज बुद्ध जयन्ती तथा उभौली पर्व: देशभर श्रद्धाभक्तिपूर्वक मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रिसंयोग परेको २५७०औँ बुद्ध जयन्ती आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइँदै छ। यसै दिन किरात समुदायको प्रकृति र पुर्खाप्रति समर्पित महत्त्वपूर्ण पर्व उभौली पनि उत्साहपूर्वक मनाइँदै छ।

वैशाख शुक्ल पूर्णिमामा पर्ने बुद्ध जयन्तीले शान्ति, करुणा, सहिष्णुता र सदाचारको सन्देश दिने विश्वास गरिन्छ। धार्मिक मान्यताअनुसार आजकै दिन सिद्धार्थ गौतमको जन्म लुम्बिनीमा भएको थियो। २९ वर्षको उमेरमा राजकीय जीवन त्यागेर ज्ञानको खोजीमा निस्किएका उनले बोधगयामा ज्ञान प्राप्त गरेका थिए भने कुशीनगरमा महापरिनिर्वाण प्राप्त गरेका थिए। जन्म, ज्ञान र निर्वाणजस्ता तीनवटै महत्वपूर्ण घटना एउटै दिन परेकाले यो दिनलाई बौद्ध धर्मावलम्बीहरूले विशेष पवित्र मान्ने गर्दछन्।

बुद्धले प्रतिपादन गरेका ४ आर्यसत्य र अष्टाङ्गिक मार्ग आज पनि उत्तिकै सान्दर्भिक मानिन्छन्। यस अवसरमा नेवार तथा बौद्ध समुदायले बुद्धका मूर्तिको पूजा, नगर परिक्रमा, धूप–दीप प्रज्वलन र भजन–कीर्तन गर्ने गर्दछन्। लुम्बिनी लगायत विभिन्न स्थानमा गुठी तथा सांस्कृतिक संस्थाहरूले झाँकी, नृत्य र धार्मिक कार्यक्रम आयोजना गर्दै आएका छन्।

उता, किरात समुदायले मनाउने उभौली पर्व प्रकृति र पुर्खाप्रतिको आस्था झल्काउने सांस्कृतिक परम्परा हो। जाडो सकिएर गर्मी सुरु भएसँगै मानिस तथा जीवजन्तु उकालोतर्फ सर्ने परम्परासँग यो पर्व जोडिएको छ। खेतीपातीको सुरुवात हुने समयसँग सम्बन्धित भएकाले यसलाई कृषि चक्रसँग पनि जोडेर हेरिन्छ।

उभौलीको मुख्य आकर्षण ‘साकेला सिली’ नाच हो, जसले प्रकृति, ऋतु परिवर्तन र सामुदायिक जीवनलाई जीवन्त रूपमा प्रस्तुत गर्छ। यस अवसरमा किरात समुदायले भूमिपूजा, पुर्खापूजा र प्रकृतिको आराधना गर्दै वातावरण संरक्षणको सन्देश दिने गर्दछन्। सिलिचुङ, हलेसी महादेव लगायतका क्षेत्रमा विशेष कार्यक्रम हुने गरेका छन् भने काठमाडौँ उपत्यकामा पनि साकेला सिली नाच प्रस्तुत गर्ने परम्परा रहिआएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *