काठमाडौं ।नेपाली कांग्रेस ले प्रतिनिधिसभासम्बन्धी विषय र पार्टी अनुशासनका मुद्दामा आज तीन वटा बैठक बोलाएको छ ।
संसदीय दलको नेता चयनमा देखिएको विवाद र अनुशासनसम्बन्धी उजुरीमाथि निर्णय लिन छुट्टाछुट्टै बैठक बस्न लागेका हुन् ।
पहिलो बैठक बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको बस्दै छ । सभापति गगन थापा ले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव राख्ने र त्यसैबाट नाम टुंग्याउने तयारी रहेको जनाइएको छ ।
दलको नेता चयनको विषय पेचिलो बन्दै गइरहेका बेला उक्त बैठकलाई निर्णायक मानिएको छ ।
कार्यसम्पादन समितिको बैठकपछि दिउँसो १ बजे संसदीय दलको बैठक बस्नेछ ।
निर्वाचन समितिका संयोजक प्रकाश रसाइली का अनुसार सो बैठकले नेता चयन प्रक्रियालाई अन्तिम रूप दिँदै अनुमोदन गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय अनुशासन समिति बैठक बस्नेछ ।
समितिका सचिव दिनेश थापा मगर का अनुसार गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेका र तिनका समर्थक तथा प्रस्तावकविरुद्ध परेका उजुरीमाथि छलफल हुनेछ ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछापका सभापति कान्छाराम तामाङ लाई सोधिएको स्पष्टीकरणबारे पनि आजको बैठकले आवश्यक निर्णय लिने जनाइएको छ ।






