काठमाडौं । स्नो रिभर्स लिमिटेडले यही वैशाख २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावितलाई आईपीओ बाँडफाँड गरेसँगै अब सर्वसाधारणमा जारी गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बरारब प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले कुल १८ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
जसमध्ये आयोजना प्रभावितलाई ९ लाख ३७ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९३ हजार ७५० कित्ता आईपीओ बाँडफाँड गरिसकेको छ। अब बाँकी आईपीओमध्ये सामुहिक लगानी कोषलाई ४६ हजार ८७५ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीलाई १८ हजार ७५० कित्ता सुरक्षित गरी बाँकी रहेको ७ लाख ७८ हजार १२५ कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो।
सर्वसाधारणले यसमा आवेदन दिंदा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिन्छ। आवेदन वैशाख २९ गतेदेखि जेठ १ गते बैंकिङ्ग समयसम्म दिइसक्नु पर्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकम सानिमा क्यापिटल लिमिटेडले रहेको छ।






