काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा सञ्चालित होटल तथा व्यावसायिक फर्महरूमाथि आकस्मिक अनुगमन गरी उपभोक्ता ठगी गर्ने पाँच फर्मलाई जरिबाना गरेको छ।
विभागले बिहीबार गरेको आकस्मिक अनुगमनका क्रममा उपभोक्ता हित विपरीतका गम्भीर गतिविधि फेला परेपछि पाँचवटा व्यावसायिक फर्मलाई कुल १४ लाख ५ हजार रुपैयाँ नगद जरिबाना गराएको छ । त्यस्तै एक प्रतिष्ठित होटललाई स्पष्टीकरणका लागि कार्यालयमा बोलाएको छ ।
अनुगमन गरिएका फर्महरूमा सामानको अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) उल्लेख नगरेको, साविकको मूल्य छोपेर नयाँ स्टिकर टाँसेर महँगोमा बिक्री गरेको र एउटै सामानमा दोहोरो मूल्यका स्टिकर टाँसेको पाइएको थियो ।
यस्तै कतिपय फर्महरूले तोकिएको एमआरपीभन्दा बढी मूल्य असुल गरिरहेको र म्याद सकिएका सामान बिक्री गर्ने , फुड कलर समेत प्रयोग तथा बिक्रीका लागि राखेको अवस्थामा फेला परेका छन् ।
सबैभन्दा बढी जरिबाना पर्नेमा एयरपोर्ट क्षेत्रमा रहेका सान इन्टरप्राइजेज, ओरियन्टल होटल्स, टी थ्री थकाली ग्रुप र साई किरण इन्टरप्राइजेजलाई जनही ३ लाख रुपैयाँका दरले नगद जरिबाना तिराएको छ ।
यसैगरी, सोही क्षेत्रमा सञ्चालित होटल सोनिगः प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । यस होटलले पनि उपभोक्ता संरक्षण ऐन विपरीतका कार्य गरेको अनुगमन टोलीले फेला पारेको थियो ।
अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले सोल्टी होटल लिमिटेडलाई आफ्नो व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजात सहित २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।






