काठमाडौं।बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले गत चैत २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरेको छ।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर निष्काशनमा ल्याएको छ।
हकप्रद सेयर निष्काशनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। यसअनुसार माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको हकप्रद सेयरमा वैशाख १३ गतेसम्म आवेदन दिन सकिने व्यवस्था थियो। तर वैशाख १० गते साँझसम्ममा कुल १४ लाख ५० हजार २७१ कित्ता सेयरका लागि मात्र आवेदन परेको छ। मागभन्दा कम आवेदन परेकोले कम्पनीले निष्काशन अवधि थप गरेको हो।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।
हकप्रद सेयर निष्काशन गरी संकलन भएको रकम कम्पनीले आयोजना सञ्चालनका लागि लिएको ऋणहरुको आंशिक भुक्तानी गर्न प्रयोग गर्नेछ।
हाल कम्पनीको सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंक गरी चारवटा बैंकमा कुल ९६ करोड ९० लाखा ९१ हजार ६०९ रुपैयाँ ऋण बाँकी छ। हकप्रद सेयर निष्काशन गरी प्राप्त रकमबाट भुक्तानी गरेपछि कम्पनीको ऋण ५६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँ बाँकी रहनेछ।
Artha Sanjal






