काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट मार्च २०२६ मा एक महिनाको अवधिमा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन्।
विमानस्थल कार्यालयका अनुसार यस अवधिमा अन्तर्राष्ट्रियतर्फ ३ लाख ७५ हजार ६ सय ७४ र आन्तरिकतर्फ ३ लाख ३५ हजार ६ सय ८३ यात्रुले यात्रा गरेका छन्।
अन्तर्राष्ट्रिय उडानतर्फ कुल २८ वटा वायुसेवा कम्पनीले उडान–अवतरण गरेका छन्। सोही अवधिमा १ लाख ९२ हजार १ सय ५५ यात्रु विदेश प्रस्थान गरेका छन् भने १ लाख ८३ हजार ५ सय १ यात्रु नेपाल भित्रिएका छन्।
यस महिनामा कुल २ हजार ५ सय ६९ अन्तर्राष्ट्रिय उडान–अवतरण भएका छन्, जसमा १ हजार २ सय ८६ उडान र १ हजार २ सय ८३ अवतरण समावेश छन्।
यात्रु संख्याका आधारमा अन्तर्राष्ट्रिय उडानमा सबैभन्दा बढी सेवा दिने वायुसेवा कम्पनी एयर अरेबिया रहेको छ, जसले ५० हजार ५ सयभन्दा बढी यात्रु ओसारपसार गरेको छ। त्यस्तै नेपाल एयरलाइन्स ले ३८ हजार ५ सयभन्दा बढी यात्रु बोक्दा हिमालय एयरलाइन्स ले १७ हजारभन्दा बढी यात्रु सेवा दिएको छ।
त्यसैगरी इन्डिगो एयरले ३६ हजार ३ सय २६, थाई एयरवेजले २२ हजार १ सय ८४, टर्किस एयरलाइन्सले १५ हजार ७ सय ३५ र एयर इन्डियाले २९ हजार ९ सय ३४ यात्रु बोकेको तथ्यांक छ ।
आन्तरिकतर्फ कुल १ लाख ६४ हजार ९ सय २२ यात्रु प्रस्थान गरेका छन् भने १ लाख ७० हजार ७ सय ६१ यात्रु अवतरण गरेका छन्। यस अवधिमा आन्तरिक उडान–अवतरण ७ हजार ९ सय ६२ पटक भएका छन्।
आन्तरिकतर्फ सबैभन्दा धेरै यात्रु बुद्ध एयरले बोकेको छ । बुद्धले १ लाख ८२ हजार ५ सय ९ यात्रु बोकेको छ । यती एयरलाइन्सले ७४ हजार ९ सय ४० र श्री एयरलाइन्सले ६४ हजार ५ सय ५४ यात्रु बोकेको विमानस्थलको तथ्यांक छ ।






