वाणिज्य बैंकहरूमा महिला कर्मचारीको उपस्थिति ४३ प्रतिशत पुग्यो, ग्लोबलमा पुरुषभन्दा धेरै

काठमाडौं — बैंक तथा वित्तीय संस्थामा महिला कर्मचारीको उपस्थिति बढ्दो देखिए पनि नेतृत्व तहमा उनीहरूको सहभागिता अझै न्यून रहेको देखिएको छ।

नेपाल बैंकर्स संघ का अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा कुल ४३ हजार १७३ कर्मचारी कार्यरत छन्। तीमध्ये ४३.५४ प्रतिशत महिला र ५६.४६ प्रतिशत पुरुष छन्। अघिल्लो वर्ष महिला सहभागिता ४०.८९ प्रतिशत थियो।

कुल स्थायी कर्मचारीमध्ये १८ हजार ४४४ महिला र २४ हजार ७२९ पुरुष रहेका छन्। संविधानले कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेअनुसार बैंकिङ क्षेत्रमा महिला संख्या बढ्दै गएको देखिन्छ।

प्रमुख बैंकहरूमा महिला कर्मचारीको अवस्था

बैंक महिला कर्मचारी (%) महिला संख्या
ग्लोबल आइएमई बैंक ६०.२४% २,२२०
प्रभु बैंक ४७.१२% १,४६७
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४६.७३% १,३८१
एनआईसी एसिया बैंक ४६.२०% १,४९१
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ४५.१७% —
सिटिजन्स बैंक इन्टरनेसनल ४२.६४% —
हिमालयन बैंक ४१.६१% —
नेपाल एसबिआई बैंक ३३% —
एभरेष्ट बैंक ३३.१४% —
कृषि विकास बैंक ३४.२०% —

तल्लो र मध्यम तहमा महिला कर्मचारीको उपस्थिति उल्लेख्य भए पनि उच्च व्यवस्थापन, विभागीय प्रमुख र नीतिगत तहमा भने पुरुषको वर्चस्व कायमै छ।

बैंकहरूका अनुसार विवाह, मातृत्व र पारिवारिक जिम्मेवारीका कारण धेरै महिला कर्मचारीले करियरको बीचमै जागिर छाड्ने प्रवृत्ति देखिएको छ। अनिवार्य सरुवा नीति र लामो कार्यसमयले पनि महिलालाई निरन्तरता दिन चुनौती थपेको बताइन्छ।

महिला सहभागिता बढ्नु सकारात्मक भए पनि नेतृत्व तहमा उनीहरूको पहुँच विस्तार र कार्यस्थललाई थप महिलामैत्री बनाउनु अझै चुनौतीकै रूपमा रहेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *