काठमाडौं: हिमालयन पावर पार्टनर लिमिटेडले आगामी वैशाख १७ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको छ। यस अनुसार कम्पनीले ५३ करोड २७ लाख ८ हजार ५०० रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख २७ हजार ८५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
हकप्रद सेयर निष्काशनका लागि कम्पनीले चैत १० गते बुकक्लोज गरेको थियो। यसअनुसार चैत ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद सेयरमा जेठ ६ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड ५४ लाख १७ हजार रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५९ करोड ८१ लाख २५ हजार ५०० रुपैयाँ पुग्नेछ।



