कृषि विकास कार्यालयद्वारा ४५ करोड अनुदान वितरण

नवलपरासी — कृषि विकास कार्यालय नवलपरासीले पछिल्लो पाँच वर्षमा करिब ४५ करोड रुपैयाँ अनुदान वितरण गरेको जनाएको छ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०८१/८२ सम्म कुल ४४ करोड ७१ लाख ७३ हजार ८५१ रुपैयाँ अनुदान ९१५ जना किसानलाई उपलब्ध गराइएको हो।

कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी विश्वास काफ्लेका अनुसार कार्यक्रमअनुसार किसानले न्यूनतम ८७० रुपैयाँदेखि अधिकतम पाँच करोड ५० हजार रुपैयाँसम्म अनुदान पाएका छन्।

हुप्सेकोट–१ जुगेपानीस्थित तामाङ टोल कृषक समूहले बाली बिमाअन्तर्गत सबैभन्दा बढी रकम प्राप्त गरेको उनले बताए।

कार्यालयले व्यावसायिक तरकारी खेती, फलफूल बगैंचा विस्तार तथा व्यवस्थापन, साना किसान कृषि फार्म स्थापना, मकै बीउ उत्पादन, उन्नत कृषि प्रविधि प्रदर्शन, बाँझो जमिनमा खेती प्रोत्साहन, खाद्यान्न तथा तेलहन बाली प्रवर्द्धन, साना सिँचाइ कार्यक्रम, बेमौसमी तरकारी उत्पादनलगायत विभिन्न शीर्षकमा अनुदान वितरण गर्दै आएको छ।

एउटै किसानले विभिन्न कार्यक्रममार्फत बहुविध शीर्षकमा समेत अनुदान पाएको काफ्लेले बताए।

कार्यालय प्रमुख वरिष्ठ कृषि प्रसार अधिकृत राजेश्वर सिलवालका अनुसार चालु आर्थिक वर्षमा लोकमार्ग कोरिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन, आकस्मिक राहत, बाली विशेष तालिम, खाद्यान्न तथा तरकारी बाली प्रवर्द्धन कार्यक्रम सञ्चालनमा छन्।

यसैगरी फलफूल बगैंचा स्थापना तथा विस्तार, प्रविधि हस्तान्तरण, कृषि तथ्यांक संकलन, उन्नत प्रविधि प्रदर्शन, प्रयोगशाला सेवा, स्थानीय तहमा कृषि शिविर सञ्चालन, उत्कृष्ट कृषक सम्मान तथा बीउ उत्पादन प्रवर्द्धनका कार्यक्रम पनि सञ्चालन हुने उनले जानकारी दिए।

चालु वर्षका लागि कार्यालयले ५ करोड १७ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ। अधिकांश कार्यक्रमका लागि प्रस्ताव आह्वान भइसकेको र केही कार्यान्वयनको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *