काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र नेतृत्वको विषयमा तीव्र विवाद देखिएको छ। प्रतिनिधि सभा निर्वाचनमा भोगिएको पराजयको समुचित समीक्षा नेतृत्वले नगरेको आरोप लगाउँदै पार्टीका महामन्त्रीसहित ११ नेताले अध्यक्ष राजेन्द्र लिङ्देन लाई विकल्प खोज्न दबाब दिएका छन्।
उनीहरूले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गर्दै तीन बुँदे प्रस्ताव अघि सारेका छन्। प्रस्तावअनुसार निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन, एक साताभित्र महाधिवेशनको मिति तय, र पार्टीभित्र भएका विवादास्पद तथा विधानविपरीत गतिविधिको छानबिन गर्न समिति गठन गर्नुपर्ने उल्लेख गरिएको छ।
११ नेताको बैठकले पार्टीलाई ‘सन्तुलित र विश्वसनीय वातावरण’ मा पुनर्संरचना गर्न महाधिवेशन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। यस कदमले राप्रपाभित्र नेतृत्व संकट थप गहिरिने चिन्ता राजावादी सर्कलमा व्यक्त गरिएको छ।







