‘Center Fruit’कै नक्कल: बिरगंजस्थित ‘Celter Fruit’को फ्याक्ट्रीमा छापा, ठूलो परिमाणमा सामान जफत

बिरगंज । अन्तर्राष्ट्रिय ब्रान्डको नक्कल गर्दै उत्पादन गरिएको च्युइङ्गममाथि उद्योग विभागले कारबाही अघि बढाएको छ।

इटालीस्थित कम्पनी Perfetti Van Melle S.p.A. को नाममा नेपालमा दर्ता रहेको “Center Fruit” ट्रेडमार्कसँग अत्यन्त मिल्दोजुल्दो उत्पादन फेला परेपछि उक्त सामग्री जफत गरिएको हो।

बिरगंजस्थित स्वीट मार्ट इन्डस्ट्रिजले “Center Fruit” सँग झुक्याउने किसिमले “Celter Fruit” नाम प्रयोग गरी उस्तै प्याकेजिङ, रङ र डिजाइनमा च्युइङ्गम उत्पादन तथा बिक्री गर्दै आएको पाइएको उद्योग विभागले जनाएको छ।

विभागका अनुसार उक्त उद्योगलाई वि.सं. २०७६ सालमै यस्तो मिल्दोजुल्दो उत्पादन नगर्न निर्देशन दिइएको थियो। तर, निर्देशनको बेवास्ता गर्दै उत्पादन जारी राखिएको सूचनापछि उद्योग विभागको टोलीले जिल्ला प्रहरी कार्यालयको सहयोगमा अनुगमन तथा निरीक्षण गरेको थियो।

विभागले गरेको अनुगमनका क्रममा “Center Fruit” सँग अत्यन्त मिल्ने नाम, डिजाइन र समग्र प्याकेजिङ प्रयोग गरिएको पुष्टि भएपछि २७ कार्टुन र खुल्ला ६ क्रेट च्युइङ्गम जफत गरिएको विभागले जनाएको छ। जफत गरिएका सामग्रीहरू सुरक्षित रूपमा छुट्टै कोठामा भण्डारण गरिएको छ।

यसअघि सर्वोच्च अदालत ले “Center Fruit” लाई प्रसिद्ध (Well-Known) ट्रेडमार्कको मान्यता दिइसकेको फैसला समेत गरेको छ।

इटाली कम्पनीको तर्फबाट प्रतिनिधित्व गर्दै आएका कुशश्री बिश्वकर्माले ट्रेडमार्क उल्लंघनबारे सम्बन्धित निकायमा पहल गर्दै आएका थिए। उनका अनुसार, यस्तो नक्कली तथा झुक्याउने उत्पादनले उपभोक्तालाई भ्रममा पार्नुका साथै मूल ब्रान्डको प्रतिष्ठा र अधिकारमा प्रत्यक्ष असर पार्ने गर्दछ।

उद्योग विभागले ट्रेडमार्क उल्लंघनमा संलग्न उद्योगमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *