आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ — राष्ट्रिय तथ्यांक कार्यालयले दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

कार्यालयका अनुसार गणक र सुपरिवेक्षकहरू देशभर परिचालित भइसकेका छन् र वैशाख २ गतेदेखि स्थलगत तथ्यांक संकलन सुरु गरिनेछ।

कार्यतालिकाअनुसार गणनाको काम असारको पहिलो साताभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको कार्यालयले जनाएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले उद्योग, व्यवसाय तथा सरोकारवाला सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेका छन्।

उनले आर्थिक तथा औद्योगिक क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण तथ्यांक संकलनमा सहयोग गर्न अनुरोध गरे।

गणनामा उद्योग, व्यवसाय, सेवा, सहकारी तथा सार्वजनिक संस्थानसहित आर्थिक क्षेत्रका १८ उपक्षेत्रको आधारभूत विवरण संकलन गरिनेछ।

दर्ता भएका र नभएका साना–ठूला प्रतिष्ठान, स्वरोजगार व्यवसाय, उद्योग, गैरसरकारी संस्था, विद्यालय र अस्पतालसमेत गणनामा समेटिनेछन्।

गणनाको पूर्वतयारी फागुन मसान्तमै सम्पन्न भइसकेको छ भने ७७ जिल्ला र थप सात गरी ८४ अस्थायी कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ। ती कार्यालय असार मसान्तसम्म सञ्चालन हुनेछन्।

कार्यालयले सही र पूर्ण विवरण उपलब्ध गराएर राष्ट्रिय अभियानलाई सफल बनाउन सबै पक्षसँग आग्रह गरेको छ।

यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर नौ लाखभन्दा बढी प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *