काठमाडौं । नेपाल बैंकर्स संघ (NBA) का कार्यसमिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डॉ. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
संघका पदाधिकारीहरूले अर्थमन्त्री वाग्लेलाई पदभार ग्रहण गरेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। भेटका क्रममा बैंकिङ क्षेत्रले मुलुकको अर्थतन्त्र पुनर्जीवित गर्न सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइएको थियो।
उनीहरूले लगानी वृद्धि, वित्तीय मध्यस्थता सुदृढीकरण र समग्र आर्थिक विकासमा बैंकिङ क्षेत्रले सक्रिय भूमिका खेल्ने बताएका छन्। बैंकर्स संघका प्रतिनिधिहरूले आर्थिक गतिविधि विस्तार, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा दिगो आर्थिक वृद्धिका लागि बैंकिङ क्षेत्र सरकारसँग मिलेर अघि बढ्न तयार रहेको धारणा व्यक्त गरेका थिए।
जवाफमा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण स्तम्भका रूपमा रहेको उल्लेख गर्दै यसको स्थायित्व र विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन्। उनले वित्तीय क्षेत्रमा देखिएका चुनौती तथा अवरोधहरू समाधान गर्न सरकार प्रतिबद्ध रहेको र बैंकिङ क्षेत्रले भोगिरहेका समस्यालाई सम्बोधन गर्न आवश्यक नीतिगत पहल गरिने विश्वास व्यक्त गरेका छन्।
भेटमा समसामयिक आर्थिक अवस्था, लगानीको वातावरण सुधार तथा वित्तीय क्षेत्रलाई अझ सुदृढ बनाउने विषयमा समेत छलफल भएको संघले जनाएको छ।







