एनआईबिएल सहभागिता फण्डको इकाई हितग्राही खातामा जम्मा, योजनाको आकार १० अर्ब पुग्यो

काठमाडौं । एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरूको हितग्राही खातामा इकाईहरू जम्मा (क्रेडिट) गरिएको छ।

योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेडले विगत केही समयदेखि प्राविधिक कारणले रोक्किएका इकाईहरू लगानीकर्ताको खातामा पठाइएको जानकारी दिएको हो।

अब लगानीकर्ताहरूले आफ्नो ‘मेरो शेयर’ लग-इन गरी आफूले लगानी गरेको इकाईहरू सफलतापूर्वक क्रेडिट भएको पुष्टि गर्न सक्नेछन्।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कोष प्रवर्द्धक रहेको यस खुलामुखी योजनाको आकार ६ अर्ब रुपैयाँ (६० करोड इकाई) मात्र रहेको र बिज पुँजीका कारण लामो समयदेखि इकाईहरू हितग्राही खातामा जम्मा हुन सकेका थिएनन्।

नेपाल धितोपत्र बोर्डबाट २०८२ माघ २ गते जारी भएको बिज पुँजी सम्बन्धी निर्देशिका र २०८२ चैत ५ गते प्राप्त योजनाको आकार वृद्धिको स्वीकृतिसँगै यो समस्या समाधान भएको हो।

धितोपत्र बोर्डको नयाँ स्वीकृतिसँगै यस फण्डको आकार ६ अर्बबाट बढेर १० अर्ब रुपैयाँ (१ अर्ब इकाई) कायम भएको छ। यससँगै एनआईबिएल सहभागिता फण्ड नेपालका म्युचुअल फण्डहरूमध्ये सबैभन्दा ठूलो फण्डको रूपमा स्थापित भएको छ। हाल नेपालमा ४३ वटा बन्दमुखी र १३ वटा खुलामुखी म्युचुअल फण्डहरू सञ्चालनमा छन्।

२०७६ असार २४ गतेदेखि सुरु भएको यो नेपालको पहिलो खुलामुखी म्युचुअल फण्ड हो। यसले इक्विटी, डिबेन्चर, मुद्दती निक्षेप र ट्रेजरी बिल जस्ता स्थिर आय आर्जनका साधनहरूमा लगानी गर्दै आएको छ। खुलामुखी प्रकृतिको भएकाले यो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छैन, तर लगानीकर्ताले सिधै योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटलमार्फत इकाईहरू खरिद-बिक्री गर्न सक्छन्।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *