काठमाडौं । व्यापारी चन्द्र प्रसाद ढकाले पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा जबर्जस्ती निर्माण गर्न लागेको निर्माणाधीन केबलकार परियोजनाको सुरक्षार्थ खटाइएका प्रहरी फिर्ता बोलाउन गृहमन्त्रीले निर्देशन दिएका छन्।
गृहमन्त्री सुधन गुरुङले पाथीभरा फेदीमा स्थानीयको चाहनाविपरीत जबर्जस्ती निर्माण गरिरहेको केबलकार परियोजनाको सुरक्षाका लागि खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त टोली फिर्ता बोलाउन प्रहरी मुख्यालयलाई निर्देशन दिएको स्रोतले जनाएको छ।
प्रहारी स्रोतका अनुसार प्रसिद्ध धार्मिक तिर्थस्थल पाथीभरा दर्शनका लागि जाने तीर्थालुहरूको सेवामा खटिने प्रहरी बस्ने फेदीस्थित चौकी यथावत् रहनेछ ।
तर, सुरक्षाकर्मीको घेराभित्र राखेर चन्द्र ढकालले अघिल्लो सरकारका प्रतिनिधिसँगको निकटतम सम्बन्धको गलत फाइदा उठाउँदै तैनाथ गराएइको सुरक्षा टोली भने हटाइने छ।
पाथीभरा जस्तो धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको क्षेत्रमा जबर्जस्ति केबलकार निर्माण गर्न खोजिएको भन्दै स्थानीय किरात धर्मावलम्बीहरूले लामो समयदेखि विरोध गर्दै आएका छन्।
उनीहरूले प्राकृतिक र सांस्कृतिक महत्वको स्थलमा जबरजस्ती आयोजना अघि बढाइएको आरोप लगाउँदै आएका छन्। अघिल्लो सरकारले सो केबलकार परियोजनाको विरोध गरिरहेका स्थानीयमाथि प्रहरी परिचालन गरि दमन गर्दै आएको थियो ।
विरोधका क्रममा प्रहरीले चलाएको गोलीबाट दर्जनौं स्थानीय घाइते समेत भएका थिए। स्थानीयहरुले उक्त घटनाको समेत निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीयले गर्दै आएका छन्।
पाथीभरा क्षेत्रमा केबलकार निर्माणका लागि भन्दै व्यापक मात्रामा जंगल फँडानी गरिएको छ। सोही क्रममा वन फँडानीका लागि ढकालले वन तथा वातावरण मन्त्रालयका कर्मचारीलाई समेत प्रभावमा पारी फर्जी कागजात बनाइएको आशंका व्यक्त भएपछि यसबारे थप अनुसन्धानको माग समेत उठेको छ।
हालै सप्पन्न निर्वाचनअघि प्रधानमन्त्री बालेन्द्र शाहले पाथीभरा पुगेर दर्शन गरेका बेला स्थानीयले जंगल फँडानी र केबलकार परियोजनासम्बन्धी गुनासोसमेत राखेका थिए। स्थानीयले अहिले उक्त घटनाको निष्पक्ष छानबिन हुने अपेक्षा गरेका छन्।






