८ महिनामा वाणिज्य बैंकको नाफा ४३ अर्ब नाघ्यो, नबिल अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएका छन्। यो अघिल्लो वर्षको तुलनामा ०.८९ प्रतिशतले बढी हो।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक पहिलो स्थानमा देखिएको छ । नबिलले फागुन मसान्तसम्म ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा २६.८७ प्रतिशतको वृद्धि हो । गत वर्ष यसै अवधिमा बैंकले ४ अर्ब ७८ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ८ महिनामा ग्लोबल आइएमईले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । यद्यपि बैंकको नाफा गत वर्षको तुलनामा २.२६ प्रतिशतले घटेको छ, गत वर्ष बैंकले ४ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यसैगरी, कुमारी बैंकले चामत्कारिक वृद्धि गर्दै ३ अर्ब ६३ करोड ८ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको तुलनामा २७४.६५ प्रतिशतको उच्च वृद्धि हो, गत वर्ष बैंकको नाफा मात्र ९६ करोड ९१ लाख रुपैयाँ थियो ।

एभरेष्ट बैंकले २ अर्ब ९० करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको ३ अर्ब ८९ लाखको तुलनामा ३.३५ प्रतिशतले कम हो । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले २ अर्ब ८८ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको ४ अर्ब ८ करोड ५७ लाखको तुलनामा २९.४९ प्रतिशतको गिरावट हो । नाफाको सूचीमा प्राइम कमर्सियल बैंकले २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ कमाएको छ, जुन ९.६८ प्रतिशतको वृद्धि हो । गत वर्ष बैंकले २ अर्ब ५० करोड ३१ लाख रुपैयाँ नाफा गरेको थियो ।

एनएमबि बैंकले २ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन २.५८ प्रतिशतले घटेको हो । गत वर्ष यसको नाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ थियो । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ३३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको १ अर्ब ७२ करोड ४० लाखको तुलनामा ३५.६८ प्रतिशतको वृद्धि हो ।

त्यस्तै, सानिमा बैंकले २ अर्ब ७ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको १ अर्ब ६८ करोड ३२ लाखको तुलनामा २३.२१ प्रतिशतको वृद्धि हो । सिद्धार्थ बैंकले २ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको १ अर्ब २१ करोड ६९ लाखको तुलनामा ६८.३१ प्रतिशतको आकर्षक वृद्धि हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको २ अर्ब १७ करोड ५३ लाखको तुलनामा १६.८७ प्रतिशतले कम हो ।

प्रभु बैंकले १ अर्ब ७४ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको २ अर्ब ११ करोड ५१ लाखको तुलनामा १७.४० प्रतिशतको गिरावट हो । माछापुच्छ्रे बैंकले १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको १ अर्ब १६ करोड २३ लाखको तुलनामा २७.७२ प्रतिशतको वृद्धि हो । नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ, जुन १०.८९ प्रतिशतको वृद्धि हो । गत वर्ष बैंकले १ अर्ब २४ करोड ९० लाख रुपैयाँ नाफा गरेको थियो ।

यस अवधिमा हिमालयन बैंककाे नाफा २०.७९ प्रतिशतले घटेको छ। फागुनसम्म बैंकले १ अर्ब ३२ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ।

यता कृषि विकास बैंकले १ अर्ब २२ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको ७३ करोड ८० लाखको तुलनामा ६५.५६ प्रतिशतको वृद्धि हो भने नेपाल बैंकले १ अर्ब १८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको २ अर्ब ९८ करोड ८० लाखको तुलनामा ६०.२८ प्रतिशतको गिरावट हो ।

समिक्षा अवधिमा सिटिजन्स् बैंक इन्टरनेशनलले ८० करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ३१.०७ प्रतिशतले घटेको हो ।

सबैभन्दा कम नाफा कमाउनेमा लक्ष्मी सनराइज बैंक र एनआइसी एशिया बैंक रहेका छन् । समिक्षा अवधिमा लक्ष्मी सनराइजले ६५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षकाे तुलनामा ६७.३६ प्रतिशतको गिरावट हो। भने एनआइसी एशिया बैंकले ३० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको ८२ करोडको तुलनामा ६२.४१ प्रतिशतको गिरावट हो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *