काठमाडौं । दक्षिण एसियाली मुलुकका उद्योग, व्यापार र सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ‘साउथ एसिया ट्रेड फेयर २०२६’ आगामी मे ७ देखि ११ (वैशाख २४–२८) सम्म भृकुटीमण्डप मा आयोजना हुने भएको छ।
Introduction Trade Shows Nepal Pvt. Ltd. ले आयोजना गर्न लागेको मेलामा बंगलादेशको उद्योग मन्त्रालय र Export Promotion Bureau को सहकार्य रहनेछ।
सहयोगी संस्थामा नेपाल चेम्बर अफ कमर्स सहित विभिन्न क्षेत्रीय चेम्बरहरू सहभागी छन्।
आयोजकका अनुसार भारत, बंगलादेश, नेपाल, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका र माल्दिभ्सका प्रदर्शकहरूको सहभागिता रहनेछ।
मेलामा करिब १५० प्रदर्शक र एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको मेला संयोजक सुमन महर्जन ले बताए।
उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन र क्रेता–बिक्रेताबीच सहकार्य विस्तार मेलाको मुख्य उद्देश्य रहेको जनाइएको छ।
कपडा, सौन्दर्य सामग्री, हस्तकला, सवारी साधन, फर्निचर, कृषि उत्पादन र सूचना प्रविधि लगायतका क्षेत्रका सामग्री प्रदर्शनीमा रहनेछन्।
मेलासँगै व्यापारिक भेटघाट, सेमिनार, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
आयोजकका अनुसार यसले नेपालमा लगानी र व्यापार विस्तारका नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ।






