इन्धन सङ्कटबीच खपत घटाउन निगमको आग्रह, दुई दिन बिदा प्रभावकारी बनाउन अपिल

काठमाडौं । नेपाल आयल निगम ले बढ्दो इन्धन सङ्कटका बीच उपभोक्तालाई खपतमा संयमता अपनाउन आग्रह गरेको छ।

मन्त्रिपरिषद्ले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै निगमले त्यसलाई प्रभावकारी बनाउन नागरिकको सहयोग आवश्यक रहेको जनाएको हो।

निगमका प्रवक्ता मनोज ठाकुर ले बिदा समयलाई अनावश्यक सवारी प्रयोगमा खर्च नगर्न आग्रह गर्दै इन्धन बचतमा सबैको जिम्मेवारी रहने बताए।

“बिदा भयो भन्दैमा गाडी लिएर घुम्न ननिस्कनुहोस्, अहिले प्राथमिकता इन्धन बचत हो,” उनले भने, “हाल निगमले प्रतिलिटरमा करिब १२० रुपैयाँ घाटा व्यहोर्दै आएको छ।”

पेट्रोलियम पदार्थको आपूर्तिमा दबाब बढ्दै गएपछि सरकारले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय र शैक्षिक संस्थामा सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल का अनुसार इन्धन खपत घटाउन दीर्घकालीन रूपमा विद्युतीय सवारीसाधनतर्फ रूपान्तरणलाई सहज बनाउने कानुनी सुधारको तयारी पनि भइरहेको छ।

निगमको तथ्यांकअनुसार देशभर दैनिक करिब २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ।

प्रवक्ता ठाकुरले हालको निर्णयले कति प्रभाव पार्छ भन्ने मूल्याङ्कन गर्न केही समय लाग्ने बताए।

“बजारको वास्तविक प्रभाव बुझ्न कम्तीमा एक हप्ता कुर्नुपर्ने हुन्छ,” उनले भने, “विशेषगरी निजी विद्यालयका सवारीसाधन र जारी एसइई परीक्षाका कारण अहिले खपत उच्च नै छ। परीक्षा सकिएपछि यथार्थ अवस्था स्पष्ट हुनेछ।”

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *