काठमाडौँ । नेपाल प्रहरी ले प्राविधिकतर्फ ४०० भन्दा बढी पदमा भर्ना खुलाएको छ। प्रहरी नायव उपरीक्षक (डीएसपी), प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षक र प्रहरी जवान पदका लागि आवेदन आह्वान गरिएको हो।
प्रहरीले इन्जिनियरिङ समूहअन्तर्गत कम्प्युटर, सञ्चार, सिभिल, इलेक्ट्रिकल, बिल्डिङ एण्ड आर्किटेक्चर तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित पदमा भर्ना खुलाएको जनाएको छ। त्यसैगरी विधि विज्ञानतर्फ बायोलोजी र रसायन समूहका पदहरू तथा स्वास्थ्य सेवातर्फ मेडिकल अफिसर, डेन्टल अधिकृत, डाइटेटिक्स, फिजियोथेरापी टेक्नोलोजिस्ट, स्टाफ नर्स, फार्मेसी असिस्टेन्ट र सीएमए पदमा पनि आवेदन दिन सकिनेछ।
जवान तहमा मात्र २८० पद खुलाइएको छ भने अन्य प्राविधिक पदमा १२९ पदका लागि आवेदन माग गरिएको छ।
दरखास्त बुझाउने म्यादअनुसार प्रहरी नायव उपरीक्षक, निरीक्षक, नायव निरीक्षक र सहायक निरीक्षक पदका लागि चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। प्राविधिक प्रहरी जवानका लागि भने चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन खुला रहनेछ।
प्राविधिक जनशक्ति विस्तारमार्फत सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित प्रहरीले यसपटक विभिन्न क्षेत्र समेटेर व्यापक रूपमा भर्ना प्रक्रिया अघि बढाएको जनाएको छ।






