काठमाडौं । पछिल्लो समय घरायसी प्रयोजनका लागि विद्युतीय चुलो (इन्डक्सन) प्रयोग बढ्न थाले पनि यसले तत्कालै विद्युत् प्रणालीमा ठूलो दबाब नपारेको नेपाल विद्युत् प्राधिकरण ले जनाएको छ।
प्राधिकरणका अनुसार हाल विद्युत् खपत वार्षिक १०–१५ प्रतिशतको सामान्य दरमा बढिरहेको छ। इन्डक्सन चुलोको प्रयोग बढे पनि अचानक लोड वृद्धि भएको संकेत भने देखिएको छैन। काठमाडौं उपत्यकामा हाल पिक लोड करिब ३७०–४०० मेगावाटको हाराहारीमा रहेको छ।
प्राधिकरणले वितरण प्रणाली निगरानीमा राखेको जनाएको छ। केही क्षेत्रमा भविष्यमा फिडर र ट्रान्सफर्मरमा दबाब पर्न सक्ने भए पनि हाल समग्र आपूर्ति प्रणाली सहज रहेको बताइएको छ। आगामी गर्मीयाममा खपत बढेसँगै इन्डक्सनको प्रभाव स्पष्ट देखिन सक्ने अनुमान गरिएको छ।
मध्यपूर्वमा बढेको तनावका कारण एलपी ग्यास अभावको चर्चा चलिरहँदा बजारमा विद्युतीय चुलोको माग बढ्न थालेको छ। व्यवसायीका अनुसार पछिल्ला दिनमा दैनिक केही मात्रामा इन्डक्सन बिक्री बढेको छ।
ऊर्जा विज्ञहरूले ग्यासमा निर्भरता घटाउँदै विद्युत् प्रयोग बढाउन दीर्घकालीन नीति आवश्यक रहेको बताएका छन्। उनीहरूले सबस्टेसन, प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणसँगै घरायसी मिटर क्षमता बढाउने र सहुलियत कार्यक्रम ल्याउन सुझाव दिएका छन्।






