काठमाडौँ। दुई तिहाइ नजिकको बहुमतसहित सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र मन्त्रिमण्डल गठनको आन्तरिक कसरत तीव्र बनेको छ। मन्त्रालयगत जिम्मेवारी बाँडफाँटको खाका बनाउन नेताहरूबीच चरणबद्ध छलफल चलिरहेको स्रोतले जनाएको छ।
अर्थ मन्त्रालयका लागि भने स्वर्णिम वाग्ले को नाम मात्रै अग्रपङ्क्तिमा देखिएको छ। आर्थिक नीतिमा अनुभव, अन्तर्राष्ट्रिय संस्थासँगको संलग्नता र शैक्षिक पृष्ठभूमिका कारण उनको विकल्प खोज्न गाह्रो परेको पार्टी स्रोत बताउँछ। वाग्लेले दाबी कायमै राखेका कारण अन्य नेताहरूले खुला रूपमा अर्थतर्फ चासो नदेखाएको जनाइएको छ।
यसअघि वर्तमान अर्थमन्त्री रामेश्वर खनाल लाई राष्ट्रिय सभामा ल्याएर सन्तुलन मिलाउने चर्चा भए पनि त्यो प्रस्ताव अघि बढेन। सरकारले राष्ट्रिय सभाको रिक्त विज्ञ सदस्यमा भने गृहमन्त्री ओमप्रकाश अर्याल लाई सिफारिस गरेपछि समीकरण केही फेरिएको छ।
गृह मन्त्रालयमा भने प्रतिस्पर्धा चर्किएको छ। उपसभापति डीपी अर्याल र नेता सुनिल लम्साल बीच दाबी–प्रतिदाबी चलिरहेको छ। लम्साललाई काठमाडौँ महानगरका मेयर बालेन शाह निकट मानिन्छ। रुपन्देही–१ बाट निर्वाचित उनी यसअघि बालेन समूहबाट महामन्त्रीका लागि समेत चर्चामा थिए।
पार्टीभित्र सभापति रवि लामिछाने पक्ष र बालेन समूहबीच सन्तुलन मिलाउने प्रयासस्वरूप लम्साललाई गृहमा ल्याउने एक धारणा देखिए पनि डीपी अर्यालले गृहबाहेक अन्य मन्त्रालय स्वीकार नगर्ने अडान लिएको स्रोतको भनाइ छ।
नेतृत्वले अर्याललाई सभामुख बनाउने विकल्प पनि अघि सारेको छ। तर उनले त्यसमा खासै रुचि नदेखाएको बताइन्छ। गृह मन्त्रालय हात नपरेको अवस्थामा उनलाई भौतिक पूर्वाधार मन्त्रालयमार्फत व्यवस्थापन गर्ने विकल्प पनि छलफलमा रहेको छ।
सरकार गठनअघि नै देखिएको यो शक्ति प्रतिस्पर्धाले मन्त्रिमण्डल सन्तुलन मिलाउन नेतृत्वलाई चुनौती थपिएको संकेत गरेको छ।






