काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आज नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिँदै छन्। बालेनले मध्याह्न १२ बजेर ३४ मिनेटमा शपथ गर्ने भएका हुन् ।
शपथपछि २ः१५ मा सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।
शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्रीको शपथ गराउने कार्यक्रम तय गरिएको बताइएको छ।
त्यसअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो।
राष्ट्रपति कार्यालयका अनुसार, अपराह्न प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ कार्यक्रम तय गरिएको बताइएको छ ।
शपथग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले १८२ सिटमा जित निकालेको छ।
बिहीबार मात्रै नेता बालेनलाई संसदीय दलको नेता चयन गरिसकेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेता शाहले झापा क्षेत्र ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरी विजयी भएका थिए ।






