काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्पष्ट बहुमत ल्याएसँगै नयाँ सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
पार्टी सभापति बालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्री नियुक्त भई भोलि नै पूर्ण मन्त्रिपरिषद्सहित शपथ लिने तयारीमा रहेका छन्।
सरकार गठनका लागि रास्वपाले प्रारम्भिक चरणमै केही मन्त्रालयको टुंगो लगाइसकेको छ।
स्रोतका अनुसार उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री, डोलप्रसाद अर्याल गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री र मनिष झा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने लगभग निश्चित भएको छ।
प्रधानमन्त्री बन्न लागेका शाहले रक्षा मन्त्रालय भने आफैंसँग राख्ने तयारी गरेका छन्। त्यस्तै विस्तारित मन्त्रिपरिषद् अन्तर्गत अन्य मन्त्रालयहरूको जिम्मेवारी पनि टुंगिएको स्रोतले जनाएको छ।
प्रारम्भिक सूचीअनुसार सुनिल लम्साल भौतिक पूर्वाधार तथा योजना मन्त्री, दीपक बोहरा उद्योग वाणिज्य मन्त्री, सस्मित पोखरेल शिक्षा मन्त्री, बिपिन आचार्य संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सुधन गुरुङ युवा तथा खेलकुद मन्त्री र सोबिता गौतम कानुन मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ।
यस्तै, सिन्धुली–२ बाट निर्वाचित आशिष गजुरेल लाई समेत मन्त्रिपरिषद्मा समेट्ने तयारी गरिएको छ।
तर उनलाई कुन मन्त्रालय दिने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी रहेको स्रोतले जनाएको छ।
संसद्को नेतृत्व संरचनामा भने रास्वपाले सन्तुलन कायम गर्ने रणनीति लिएको छ। सभामुख पद आफ्नै दलबाट लिने र उपसभामुख पद नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई दिने गरी आन्तरिक समझदारी बनेको बताइएको छ। संवैधानिक परिषद् लगायतका निकायमा सहकार्य सहज बनाउने उद्देश्यले यस्तो सहमति गरिएको स्रोतको दाबी छ।
स्पष्ट बहुमतसहित सरकार गठन गर्न लागेको रास्वपामाथि जनअपेक्षा पनि उच्च छ। भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, आर्थिक स्थायित्व र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै सरकार अघि बढ्ने संकेत देखिएको छ।
प्रधानमन्त्री बन्न लागेका शाहले ‘नयाँ राजनीतिक संस्कार’ स्थापना गर्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्। सोहीअनुसार मन्त्रिपरिषद् चयनमा कार्यक्षमता, पारदर्शिता र जवाफदेहितालाई मुख्य आधार बनाइएको दाबी गरिएको छ।
भोलि हुने शपथसँगै नयाँ सरकार औपचारिक रूपमा गठन हुनेछ। त्यसपछि नीति तथा कार्यक्रम, बजेट तयारी र कार्यान्वयनतर्फ सरकार केन्द्रित हुने अपेक्षा गरिएको छ।






