राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा बयान दिँदै भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको खुलेको छ । जाँचबुझ आयोगको प्रतिवेदनमा लामिछानेको बयान पनि समेटिएको छ । आयोगमा बयान दिँदै लामिछानेले आफू र आफ्नो पार्टी भोलिपल्टको विध्वंसात्मक घटनामा संलग्न नभएको बताएका हुन् । कोही कतै संलग्न रहेको भेटिए कारबाही गर्ने भनी उनले आयोगमै प्रतिवद्धता जनाएका थिए ।
बयानका केही बुँदाहरुः
– आफू र आफ्नो पार्टी भोलिपल्ट (भदौ २४) को विध्वंसात्मक घटनामा संलग्न नभएको ।
– सुरक्षा निकायका प्रतिनिधिहरूले कारागार बाहिर असामान्य अवस्था सिर्जना भएको, ठूलो भीड जम्मा भएको र मलाई परिवार तथा पार्टीको जिम्मा लगाइ बाहिर पठाउनुपर्ने अवस्था आएको ।
– कारागार प्रशासनले मलाई औपचारिक रूपमा थुनामुक्त गर्ने पत्र दिने तयारी गरेको रहेछ, तर पत्र तयार नहुँदै भीडले मलाई कारागार बाहिर लगे ।
– मैले कारागारबाट पत्र आएको जानकारी पाएँ, तर त्यसमा हस्ताक्षर गर्ने वा लेखन प्रक्रियामा मेरो कुनै सहभागिता थिएन, त्यसैले सो पत्रको सम्बन्धमा जेल प्रशासन स्वयं जवाफदेही हुनुपर्छ भन्ने मेरो धारणा हो ।






