काठमाडौं। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत ८ गतेदेखि उक्त समूहका लागि शेयर निष्काशन खुला गरेको थियो।
कुल ७० करोड रुपैयाँ जारी पूँजीमध्ये ४० प्रतिशत बराबरको २८ लाख कित्ता शेयर निष्काशन अनुमति पाएको कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको हिस्साको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको हो।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्छ।
७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। शेयर निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।






