काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत १० हजारभन्दा बढी परियोजना प्रस्ताव प्राप्त भएको जनाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजित ८६ करोड रुपैयाँ बजेटमार्फत ३ प्रतिशत ब्याजदरमा विना धितो कर्जा उपलब्ध गराउने योजना कार्यान्वयनमा रहेको मन्त्रालयको भनाइ छ।
स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२ अनुसार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गत कार्तिक १९ गते प्रस्ताव आह्वान गरेको थियो। तोकिएको अवधिमा कुल १० हजार २४४ परियोजना प्रस्ताव दर्ता भएका छन्। तीमध्ये २ हजार ४१ प्रस्ताव भौतिक रूपमा र ८ हजार २०३ प्रस्ताव विद्युतीय माध्यमबाट पेश गरिएका छन्।
मन्त्रालयका अनुसार प्राप्त प्रस्तावहरू सातै प्रदेशका ७७ जिल्ला र ७१३ स्थानीय तहबाट आएका छन्। हाल प्रतिष्ठानले विषयगत विज्ञ सम्मिलित मूल्याङ्कन समितिमार्फत परियोजनाहरूको अध्ययन र मूल्याङ्कन गरिरहेको छ। प्रारम्भिक छनोटका लागि एआई आधारित स्क्रिनिङ प्रणाली प्रयोग गरिएको छ, जसबाट करिब ८० प्रतिशतसम्म शुद्धता हासिल हुने अपेक्षा गरिएको छ।
परियोजनाको यथार्थ अवस्था बुझ्न स्थानीय तहमा कार्यरत उद्यम विकास सहजकर्तामार्फत स्थलगत निरीक्षणसमेत गरिएको छ। सहजकर्ताले परियोजनासम्बन्धी विवरण, तस्वीर र करिब एक मिनेटको भिडियोसहित प्रतिवेदन तयार गरी प्रतिष्ठानमा पेश गरेका छन्।
मन्त्रालयले मापदण्ड पूरा गरेका प्रस्तावहरूलाई प्रारम्भिक सूचीमा समावेश गरी सार्वजनिक गर्ने जनाएको छ। व्यावसायिक प्रस्तुतीकरण प्रक्रिया जटिल र समय लाग्ने भएकाले स्थलगत प्रतिवेदन, फोटो, भिडियो तथा कागजातका आधारमा मूल्याङ्कन गर्ने व्यवस्था गरिएको छ।
मूल्याङ्कन समितिले कार्यविधिको अनुसूची–५ अनुसार अङ्क प्रदान गर्नेछ। व्यावसायिक प्रस्तुतीकरणबाहेकका सूचकलाई आधार मानेर मूल्याङ्कन गरिनेछ। प्रारम्भिक सूचीमा परेका परियोजनाहरूको बैंकमार्फत कर्जा योग्यता परीक्षण (क्रेडिट चेक) गरिनेछ र ५० अङ्कभन्दा बढी प्राप्त गर्ने प्रस्तावलाई प्राथमिकताका आधारमा कर्जाका लागि सिफारिस गरिने मन्त्रालयले जनाएको छ।






