विषादीयुक्त र महँगो सामान बिक्री गर्ने १५ फर्ममाथि विभागको कारबाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ उल्लङ्घन गर्ने १५ वटा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ।

विभागका अनुसार आज गरिएको अनुगमनका क्रममा ऐन विपरीत कार्य गरेको पाइएपछि तीन फर्मलाई नगद जरिवाना गरिएको छ भने १२ फर्मलाई सचेत गराउँदै सुधारका लागि सामान्य निर्देशन दिइएको छ।

अनुगमनका क्रममा ललितपुर महानगरपालिका–२२, बुंगमतीको सुवा ग्रोसरीले उपभोक्तालाई हानि पुर्‍याउने गरी विषादी वा रसायनको प्रयोग भएको वस्तु बिक्री गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

यस्तै ललितपुर महानगरपालिका–१८, मगर गाउँको प्रमिसा खाद्यान्न स्टोरलाई वस्तु वा सेवाको वास्तविक लागतभन्दा बढी मूल्यमा बिक्री गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

सूर्यविनायक नगरपालिका–६, पाण्डुबजारको ए जे सप्लायर्सलाई पनि वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, लुकाई, छिपाई वा झुक्याई बिक्री गरेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

साथै विभागले अनुगमनका क्रममा केही सामान्य त्रुटिहरू भेटिएका १२ वटा व्यावसायिक फर्महरूलाई भने सचेत गराउँदै तत्काल सुधार गर्न सामान्य निर्देशन मात्र दिएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *