सिटिजन्स बैंकको झन्डै ५ करोड हिनामिना प्रकरण: कर्मचारीद्वारा सिईओ गणेशराजविरुद्ध मुद्दा दायर

विराटनगर। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको विराटनगर शाखामा करिब ४ करोड ९१ लाख रुपैयाँ हिनामिना प्रकरणले नयाँ रुप लिएको छ।

बैंकको रकम हिनामिनामा संलग्न भएको आरोप लागेपछि निलम्बित भएकी कर्मचारी रोजी कँडेलले बैंकका सिईओ लगायत उच्च अधिकारीहरुविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेपछि प्रकरणले नयाँ मोड लिएको हो

कँडेलले बैंकका केन्द्रीय प्रमुख गणेशराज पोखरेल, कोशी प्रदेश प्रमुख दिवस सिंह ठकुरी तथा शाखा प्रबन्धक अभिषेक अग्रवाललाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकी छन्। उनका पिता राजन कँडेलका अनुसार, रोजीले कामका क्रममा भएको त्रुटि स्वीकार गर्दै बराबरको रकम धितोस्वरूप घरजग्गा बैंकको नाममा रोक्का राखिसकेको अवस्थामा समेत बैंकले अनावश्यक मानसिक दबाब दिएको आरोप छ।

कँडेल पक्षका अनुसार, प्रारम्भमा बैंकसँग घटना गोप्य राख्ने र धितोबाट रकम असुल गरेपछि प्रहरीमा नलैजाने सहमति भएको थियो। तर, पछि बैंकले प्रहरी परिचालन गरी थुनाउने धम्की दिएको उनीहरूको दाबी छ। साथै, रोजीलाई तयार पारिएका कागजातमा जबरजस्ती हस्ताक्षर गराइएको आरोप पनि लगाइएको छ।

बैंकले रोजी कँडेललाई सेवाबाट बर्खास्त गरिसकेको छ भने घटनामा संलग्नताको आशंकामा शाखा प्रबन्धक अभिषेक अग्रवाल, सहायक प्रबन्धक जोसेफ आचार्य तथा कर्मचारीहरू सोनिका राउत र विकास श्रेष्ठलाई निलम्बन गरिएको बैंक स्रोतले जनाएको छ।

बैंक स्रोतका अनुसार, निक्षेपकर्ताको रकम दुरुपयोग गरी नक्कली ऋण खडा गरेर रकम हिनामिना गरिएको थियो। रकम फिर्ता गर्ने क्रममा कँडेलले आफ्ना ससुरा खगेन्द्रप्रसाद रिजालको नाममा रहेको मोरङको रंगेलीस्थित १ बिघा १२ कट्ठा ६ धुर जग्गा बैंकको नाममा रोक्का राखेकी छन्।

कँडेल पक्षले असारसम्ममा सम्पूर्ण रकम बुझाउने सहमति भएको र करिब ६ करोड रुपैयाँ बराबरको जग्गा धितो राखिएको दाबी गरेको छ। तर, उक्त जग्गा रोक्का भइसकेपछि बैंकले प्रहरीमा उजुरी दिएको भन्दै बदनियत देखिएको आरोप उनीहरूको छ।

घटनामा संलग्न अन्य दुई कर्मचारीले समेत जनही २० लाख रुपैयाँ बैंकमा बुझाइसकेको बताइएको छ। प्रकरण हाल अदालतमा विचाराधीन छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *