काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ ।
नेपाल आयल निगमले जेठ २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएको भोलिपल्ट महासंघले विज्ञप्ति जारी गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । महासंघले एकैपटक यति धेरै मूल्य बढ्दा यातायात व्यवसायी र आम उपभोक्तालाई प्रत्यक्ष असर परेको जनाएको छ ।
महासंघका महासचिव डकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर रहने भएकाले मूल्य घटबढ हुँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने उल्लेख छ ।
यातायात व्यवस्था विभागले स्वचालित प्रणालीबाट भाडा समायोजन गर्दै आएको भए पनि विगत २०७८ फागुन २२ गतेदेखि भाडा समायोजन नभएको भन्दै महासंघले असन्तुष्टि व्यक्त गरेको छ ।
महासंघले सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकहरूलाई आधार मानेर २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न माग गरेको छ ।
विज्ञप्तिमार्फत संघीय रुटको हकमा यातायात व्यवस्था विभागबाट र प्रदेश अन्तर्गतका रुटको हकमा सातवटै प्रदेशका सम्बन्धित मन्त्रालयबाट यथाशीघ्र भाडा समायोजन गरिदिन सरकारको ध्यानाकर्षण गराइएको छ ।








