काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले कम्पनीमा कार्यरत एजेन्सी मेनेजरहरूलाई अनलाइन माध्यमबाट बीमा प्रस्ताव पेश गर्न सक्ने गरी कम्पनीको सफ्टवेयर प्रणालीमा पहुँच उपलब्ध गराउने व्यवस्था गरेको छ। एजेन्सी मेनेजरहरूले घर वा आफ्नै कार्यालयबाटै बीमा प्रस्ताव पेश गर्न सकून् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरिएको हो।
कम्पनीका अनुसार एजेन्सी मेनेजरहरूले सफ्टवेयर प्रणालीअन्तर्गत रहेको एजेन्सी पोर्टल प्रयोग गरी आफूले संकलन गरेका बीमा प्रस्ताव स्वीकृतिका लागि कम्पनीमा पेश गर्न सक्नेछन्। प्रस्तावसँग सम्बन्धित आवश्यक कागजात र विवरण पोर्टलमा अपलोड गरेपछि कम्पनीले अनलाइन माध्यमबाट अन्डरराइटिङ प्रक्रिया पूरा गर्नेछ। आवश्यक मापदण्ड पूरा भएमा बीमा प्रस्ताव स्वीकृत गरिने व्यवस्था मिलाइएको छ।
यस सुविधाका कारण बीमा प्रस्ताव स्वीकृतिका लागि कम्पनीको कार्यालयसम्म पुग्नुपर्ने झन्झट हट्नेछ। एजेन्सी मेनेजरहरूले आफ्नै घर वा कार्यालयबाट सहज रूपमा काम गर्न सक्नेछन्, जसले प्रस्ताव स्वीकृति प्रक्रिया छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले एजेन्सी मेनेजरहरूलाई अन्डरराइटिङ प्रक्रियामा आंशिक रूपमा सहभागी गराउने उद्देश्यले यस्तो सुविधा ल्याइएको जानकारी दिए। उनका अनुसार निश्चित मापदण्ड पूरा गर्ने एजेन्सी मेनेजरहरूलाई मात्र यस प्रणालीमा पहुँच दिइनेछ।
एजेन्सी पोर्टलमार्फत एजेन्सी मेनेजरहरूले आफ्नो व्यवसायसँग सम्बन्धित विभिन्न प्रतिवेदन र विवरणहरू समेत हेर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। आगामी दिनमा यस्ता प्रविधिमैत्री सेवाहरूलाई अझ विस्तार गर्दै बीमा सेवालाई थप आधुनिक बनाउने योजना रहेको पनि कम्पनीले उल्लेख गरेको छ।






