काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ।
एन्फा महासचिव किरण राई र नेपाल फुटबल खेलाडी संघ बीच आज भएको छलफलपछि खेलाडी संघले तालाबन्दी खोलेको हो।
छलफलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग चैत ३० गतेदेखि सुरु गर्ने सहमति भएको छ। साथै खेलाडी अक्षय कोषमा जम्मा गर्नुपर्ने रकम एन्फाले नै राख्ने प्रतिबद्धता जनाएको छ।
त्यस्तै खेलाडीहरूको सेवा–सुविधासम्बन्धी अघिल्लो कार्यसमितिबाट निर्णय भई भुक्तानी हुन बाँकी रहेको पुरस्कार रकम यही चैत महिनादेखि किस्ताबन्दीमा भुक्तानी गर्दै जाने सहमति पनि भएको छ।
छलफलमा एन्फा महासचिव राईसँगै केन्द्रीय सदस्य पुरुषोत्तम थापा, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, कोषाध्यक्ष रविन्द्र जोशी, प्रवक्ता सुरेश शाह तथा खेलाडी संघका प्रतिनिधिहरू सहभागी भएका थिए।






