म निजी कामका लागि आएको हुँ भन्दै देउवाले चितवनमा सरकारी गाडी चढेनन्

प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । पार्टीको कामका लागि आएको भन्दै देउवा भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् ।

देउवा चितवन आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लङ्घन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो । कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा ३ च २०४० नम्बरको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन् ।

श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए । ‘यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ’, श्रेष्ठले भने ।

श्रेष्ठका अनुसार देउवा चितवनमा रहँदा पार्टीको व्यवस्थापनमा बस्नेछन् । ‘सबै खर्च पार्टीले गर्नेछ’, उनले भने ।

देउवा र उनको समूह रहेको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुन् । देउवा आज विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट चितवन पुगेका हुन् । देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार सो जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो । ‘निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो’, परियारले भने ।

चितवनमा सत्ता गठबन्धनले गर्न लागेको सभालाई सम्बोधन गर्न देउवा आएका हुन् । उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन पुगेका छन् ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेणु दाहाल प्रमुख पदमा उम्मेदवार छिन् । त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *