धादिङ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा धादिङ क्षेत्र नम्बर १ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। यसैक्रममा राजेन्द्र प्रसाद पाण्डे सहभागी एक कार्यक्रममा विवाद उत्पन्न भएको दाबी गरिएको छ।
स्थानीय स्रोतका अनुसार थाक्रे गाउँपालिकामा राति करिब १० बजेतिर आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एक स्थानीय व्यक्तिले उम्मेदवारसँग प्रश्न गरेका थिए। सो प्रश्नको जवाफ नआएको भन्दै कार्यकर्ताबीच भनाभन सुरु भएको बताइएको छ। प्रत्यक्षदर्शीको भनाइअनुसार विवाद चर्किँदै जाँदा राति करिब ११ बजेतिर केही कार्यकर्ताबीच हातहालाहालसमेत भएको थियो।
घटनाक्रम बढ्दै जाँदा उम्मेदवार पाण्डे त्यहाँबाट गाडीमा निस्किएको आरोप स्थानीयले लगाएका छन्। त्यसपछि पनि केही समयसम्म गाउँमा तनावपूर्ण अवस्था रहेको र मध्यरातसम्म चर्काचर्की तथा होहल्ला भएको स्थानीयवासीको भनाइ छ। यद्यपि घटनाबारे आधिकारिक रूपमा प्रहरी वा उम्मेदवार पक्षबाट विस्तृत धारणा सार्वजनिक भएको छैन।
यसैबीच, केही दिनअघि पाण्डेका समर्थकहरूमाथि आशिका तामाङ र उनको सवारीसाधनमाथि दुर्व्यवहार तथा ढुंगामुढा प्रहार गरेको आरोप लागेको थियो। उक्त घटनाबारे पनि सम्बन्धित पक्षबीच आरोप–प्रत्यारोप जारी रहेको बताइएको छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा यस्ता घटनाले धादिङ–१ को राजनीतिक प्रतिस्पर्धालाई थप संवेदनशील बनाएको छ। सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउनेतर्फ ध्यान दिनुपर्ने स्थानीयको माग छ।






